दफा ५०
अनुगमन तथा निरीक्षण
(१) नेपाल सरकार, अर्थ मन्त्रालयले कोषको काम, कारबाही, कोषले सञ्चालन गरेका योजना तथा कार्यक्रमको तोकिए बमोजिम अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्नेछ ।

(२) उपदफा (१) को प्रयोजनका लागि अर्थ मन्त्रालयले नेपाल सरकारको कुनै राजपत्राङ्कित प्रथम श्रेणीको अधिकृत वा सम्बन्धित क्षेत्रको विज्ञलाई निरीक्षकको रुपमा तोक्न सक्नेछ ।

(३) उपदफा (२)- बमोजिम तोकिएको निरीक्षकले, कोषको सम्पूर्ण बही खाता, हिसाब किताव, लेखा, कागजात वा विद्युतीय अभिलेख निरीक्षण गर्न वा त्यसको विवरण वा प्रतिलिपि माग गर्न सक्नेछ ।

(४) उपदफा (३) बमोजिम निरीक्षकले मागेको कागजात वा विवरण उपलब्ध गराउनु कोषका कार्यकारी निर्देशक लगायत सम्बन्धित कर्मचारीको कर्तव्य हुनेछ ।

(५) उपदफा (२) बमोजिम तोकिएको वा नियुक्त गरिएको निरीक्षकले उपदफा (१) बमोजिम अनुगमन, निरीक्षण तथा सुपरिवेक्षणको कार्य सम्पन्न भएपछि सोको प्रतिवेदन नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।

(६) यस दफा बमोजिम गरिने अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।